काजान घोषणा: बहुपक्षीयता सुदृढीकरण र न्यायसंगत विश्व विकासमा केन्द्रित १६औं ब्रिक्स शिखर सम्मेलन सम्पन्न
अक्टोबर २२ देखि २४ सम्म रुसको काजान शहरमा सम्पन्न १६औं ब्रिक्स शिखर सम्मेलनमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका लगायत नयाँ सदस्य राष्ट्रहरु – अल्जेरिया, इजिप्ट, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स – को सहभागीता रह्यो। "न्यायसंगत विश्व विकास र सुरक्षा लागि बहुपक्षीयता सुदृढीकरण" भन्ने विषयमा आधारित यस शिखर सम्मेलनले सदस्य राष्ट्रबीच समावेशी र दिगो विकासलाई प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गर्यो।

शिखर सम्मेलनमा जारी काजान घोषणाले बहुपक्षीयता सुदृढीकरण, शान्ति प्रबर्द्धन र न्यायपूर्ण अन्तर्राष्ट्रिय व्यवस्थाको आवश्यकतामा जोड दियो। घोषणामा भनिएको छ, "हामी बहुपक्षीयताको लागि हाम्रो प्रतिबद्धता दोहोर्याउँछौं र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्छौं, जहाँ संयुक्त राष्ट्रसंघको चार्टर प्रमुख रूपमा रहेको छ।" विश्वभर बढ्दै गएको हिंसात्मक संघर्षहरुको शान्तिपूर्ण समाधान र समावेशी संवादद्वारा स्थिरता कायम राख्न आवश्यक रहेकोमा पनि नेताहरुले जोड दिएका छन्।

ब्रिक्स नेताहरुले गाजामा बढ्दो हिंसा र दक्षिण लेबनानमा बिग्रँदो स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल युद्धविराम, बन्धकहरुको निःशर्त रिहाइ, र मानवीय सहायतामा सहज पहुँचको माग गरेका छन्।

एकल उपाय र प्रतिबन्धको आलोचना
काजान घोषणामा एकतर्फी जबर्जस्ती उपाय र आर्थिक प्रतिबन्धहरुको कडा आलोचना गर्दै यस्तो कदमले अन्तर्राष्ट्रिय आर्थिक प्रणालीलाई बाधा पुर्याउने र दिगो विकास लक्ष्यहरुमा अवरोध पुर्याउने बताएका छन्। सदस्य राष्ट्रहरुले निष्पक्ष र समावेशी आर्थिक प्रणालीको आवश्यकता औंल्याउँदै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकजस्ता ब्रेस्टन वुड्स संस्थाहरुमा सुधारको माग गरे।

विश्व व्यापार प्रणाली र आर्थिक सुरक्षा
ब्रिक्स राष्ट्रहरुले विश्व व्यापार संगठन (डब्लुटिओ) केन्द्रित नियम-आधारित, खुला, पारदर्शी र निष्पक्ष बहुपक्षीय व्यापार प्रणालीप्रति प्रतिबद्धता जनाए। एकल व्यापार प्रतिबन्धलाई अस्वीकार गर्दै उनीहरुले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सुधार गर्न आह्वान गरे। काजान घोषणाले सदस्य राष्ट्रहरुमा पूर्वाधार विकास र दिगो वृद्धिलाई प्रवर्द्धन गर्न नयाँ विकास बैंक (एनडीबी) को भूमिकालाई सम्मान गर्दै सदस्य देशहरुको स्थानीय मुद्रा ऋण विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्यो।

आतंकवादविरुद्ध ब्रिक्सको प्रतिबद्धता
यस घोषणाले आतंकवादको कडा विरोध गर्दै यसलाई सबै प्रकारका हिंसाका रुपमा परिभाषित गर्दै यसको कारण र कुनै पनि किसिमको समर्थन अस्वीकार्य भएको बताएको छ। अन्तर्राष्ट्रिय सीमामा आतंकवादको विस्तार रोक्न कडा कदम चाल्न सदस्य राष्ट्रहरुले आह्वान गरे।

विश्वव्यापी स्थिरता र न्यायपूर्ण विकासलाई प्रवर्द्धन गर्न, र बहुपक्षीय संस्थाहरुमा सुधारको लागि काजान घोषणाले २१औं शताब्दीको यथार्थतालाई प्रतिबिम्बित गर्ने गरी समावेशी अन्तर्राष्ट्रिय प्रणालीको माग गर्यो। समापनमा ब्रिक्स नेताहरुले समूहको रणनीतिक महत्वलाई पुष्टि गर्दै सन् २०२५ मा ब्राजिलमा हुने अर्को ब्रिक्स शिखर सम्मेलनमा थप आर्थिक, राजनीतिक र सांस्कृतिक सहकार्यलाई गहिराइमा लिएर जाने लक्ष्य राखेका छन्।